मधेश र गण्डकीबीच पर्यटन सहकार्य गर्ने प्रतिबद्धता

पर्यटन क्षेत्रको विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता व्यक्त गरिएको छ । प्रदेशबीच पर्यटन प्रवद्र्धनमा सरोकारवाला निकायले बर्दिबासमा आयोजित कार्यक्रममा सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समीर) ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।नवनियुक्त मन्त्री भट्टराईले प्रादेशिक व्यापार तथा व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मधेशमा पर्यटनको विकास र प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार रहेको जानकारी दिँदै विधेयक दर्तासँगै पर्यटन बोर्ड गठन गर्ने बताए । मधेश प्रदेशका ८ जिल्लामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक ठाउँलाई पर्यटकीय क्षेत्र विकास गर्ने योजना रहेको उनले बताए । गण्डकी–मधेशबीच हवाई सेवा संचालन निरन्तरताका लागि छुटको व्यवस्था गरेर भए पनि चाँडै नै अघि बढाउनुपर्नेमा उनको भनाइ थियो । पर्यटक भित्राउन सरकारले के गर्नुपर्छ, त्यस्तो नीति बनाउन तयार रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ दिनुपर्ने बताए । जानकी मन्दिर र अयोध्या संस्कृति जोड्न चाँडै नै जनकपुर–अयोध्या रेल संचालनको प्रोजेक्ट घोषणा हुने उनको सुनाए ।

मधेशका गृह, संचार तथा कानुन मन्त्री शारदादेवी थापाले तालैतालको सहर पोखरा झैं मठमन्दिरको सहर जनकपुरलाई पनि चिनाउनुपर्ने उनको भनाइ थियो । श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीले पर्यटन क्षेत्र विकासको मेरुदण्ड हो भनिन् । श्रमिकहरुलाई संगठित गरेर रोजगारी दिने क्षेत्र पर्यटन भएको र आयआर्जनको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइन् । टेवानको सक्रियताप्रति प्रशंसा गर्दै उनले कोही न कोहीले यस्तैखालको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

टेवान अध्यक्ष कमला गिरीले पर्यटन विकासमा गण्डकी र मधेश प्रदेशबीच सहकार्य आवश्यक रहेको बताइन् । विगतमा पनि पोखरा–सिमरा तथा पोखरा–जनकपुर उडान भएकोमा पुनः निरन्तरतामा जोड दिइन् । पर्यटनमैत्री नीति नियम बनाउनुपर्ने भन्दै उनले आन्तरिक पर्यटन प्रवद्र्धन गरी यहाँको पैसा बाहिर जान रोक्नुपर्ने बताइन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश संरक्षक विजय झुनझुनवलाले तथा अध्यक्ष हिरालाल गौतमले मधेश प्रदेशका नाका खोल्नुपर्नेमा जोड दिए । बर्दिबासमा हतियार कारखानाको पुरातात्विक महत्व रहेको चर्चा गर्दै उनले पर्यटन क्षेत्रमा विनियोजित रकम खर्च गरेमात्रै धेरै काम हुन सक्ने विचार व्यक्त गरे । 

टेवान टोलीले विभिन्न आन्तरिक पर्यटन प्रवद्र्धनका लागि तीनदिने कार्यक्रमअन्तर्गत त्यस क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?