आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ : आज मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस ।आज मे १ तारिख, एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ मनाईंदैछ ।  सो अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।  

अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् । 

यस दिवसको अवसरमा देशैभर विभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइँदै आएको छ ।

 सोही आन्दोलनका कारण विश्वभर मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।

यसैविच, राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमै मर्यादित श्रम गर्ने वातावरण बनाएर आन्तरिक उत्पादन र उत्पादकत्व बढाउनुपर्ने बताएका छन्। विश्व मजदुर दिवस, २०२४ को अवसरमा आज एक शुभकामना संन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरोन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्नेमा जोड दिएका छन् ।

‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक छ’, उनको शुभकामना सन्देशमा भनिएको छ, ‘उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्छ।’

विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकार सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?