सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियानको थालनी भएको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले  सुशासन र सामाजिक न्यायसहित समृद्ध नेपाल निर्माण गर्ने महाअभियानको  थालनी गरेको बताएकी  छिन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा सूचना र प्रविधि महत्वपूर्ण आधार बन्ने बताइन् । उनले अबको युग सूचना र प्रविधिको युग भएकाले सूचना र प्रविधिको क्षेत्रमा व्यवस्थित लगानी गरेर वैदेशिक लगानी, सरकारी र निजी क्षेत्रको लगानीलाई पनि प्रोत्साहन गरी आवश्यक नियम कानून पनि व्यवस्थित गरी अघि बढ्न जरुरी रहेको बताइन्।

उनले सूचना र प्रविधिको प्रयोग बलियो बनाउन देशभर डिजिटल साक्षरता एवं जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताइन् । सूचना र प्रविधिको प्रयोगका कारण नागरिकले घरमै बसेर राज्यले प्रदान गरेका सेवाहरु लिनसक्ने अवस्थाको सिर्जना भइसकेको बताइन् ।

उनले पछिल्लो समय सूचना तथा प्रविधि आर्थिक समृद्धिको लागि नविनतम एवं उदीयमान क्षेत्रको रुपमा स्थापित भएको जिकिर गरिन। निजी क्षेत्रले अहिले पनि सूचना तथा प्रविधि सेवा निर्यातमार्फत वर्षेनी अर्बौं वैदेशिक मुद्रा भित्र्याइरहेको, करिव एक लाख युवाले देशभित्र रहेर विभिन्न देशमा सूचना तथा प्रविधि निर्यात गरिरहेको बताइन् ।

उनले सूचना, प्रविधि क्षेत्रको व्यवस्थित विकास गर्दै आवश्यक लगानी आकर्षित गर्नसके देशलाई समृद्धितर्फ अघि बढाउन सकिने बताइन् ।


यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?