हिमालयन हाइड्रो एक्स्पोको सम्पुर्ण तयारी पुरा,उल्लेख्य सहभागिता हुने

कृष्णानन्द भट्ट 

काठमाडौ : हिमालयन हाइड्रो एक्स्पो चौथो संस्करणा सम्पुर्ण  तयारी पुरा भएको जनाएको छ। एक्स्पो आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल  (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको सबै तयारी पुरा भएको जनाएको हो ।

यो एक्स्पो आगामी बैशाख १२, १३ र १४ गते अर्थात अप्रिल २४, २५ र २६ मा भृकुटीमण्डप  हुनेछ। बैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी) र्‍याली गर्दै एक्स्पोको सुरुवात हुनेछ भने बैशाख १३ गते राष्ट्रपतिद्वारा एक्स्पोको उद्घाटन हुने इप्पानका अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलन गरि जानकारी दिए ।

विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिने इभी र्‍याली स्काई वाक टावर कमलादीबाट शुरु भई विद्युत प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थान हुँदै करिब २६ किलोमिटरको यात्रा गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन हुनेछ। र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीलाई निःशुल्क रुपमा सहभागी हुने छन्। 

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारा सहित आयोजना गर्न लागेको यो एक्स्पोको पहिलो दिन इभी र्‍याली सहित भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङ आयोजना गरिने भएको छ। यो मिटिङमा छिमेकी मुलुक भारतका प्रतिष्ठित उद्योगी अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधि सहित्को बिजनेश मिटिङ हुनेछ। एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टल बुकिङ भइसकेको जनाएको छ। 

एक्स्पोमा प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयाम लगायत  ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया गरिनेछ। यी सबै प्राविधिक सत्रलाई विश्वको जुनसुकै स्थानबाट सजिलै भर्चुअल माध्यमबाट अवलोकन गर्न सकिने छ भने एक्स्पोमा सहभागी प्रदर्शनकर्तासँग सिधै सम्पर्क गर्न सकिनेछ।

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्ने गरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा एक्स्पोको आकर्षण हुने आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?