नेपाल र कतारबीच द्विपक्षीय सम्झौता र त्यसको प्रभाव

 कृष्णानन्द भट्ट 

काठमाडौं :  राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका नरेश अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमणमा आएका छन्। नेपालले लगानी सम्मेलन आयोजना गर्न लागेको पूर्वसन्ध्यामा भएकोे कतारी नरेश अमिर शेख थानीको भ्रमणले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई  सकारात्मक दृष्टिले हेरिएको छ।

मन्त्रिपरिषद्को वैशाख ६ गतेको बैठकले कतारी नरेश अमिर शेख थानीको नेपालको राजकीय भ्रमणलाई स्वीकृत गरी कतारसँग हुने वार्ता प्रधानमन्त्रीको नेतृत्वमा गर्ने र विभिन्न द्विपक्षीय सहकार्य सम्झौताको समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको थियो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्य सम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्य सम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्द्वारा गरिएको थियोे।

नेपाल र कतार बीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले नेपालमा सन् २०११ अगस्तमा आफ्नो राजदूतावास  स्थापना गरेको थियो। त्यो भन्दा अघि कतारको भारतको दिल्लीस्थित दूतावासले नेपाल मामिला हेर्ने गरेको थियोे। नेपाल र कतार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्र र असंलग्न आन्दोलनका पक्षधर राष्ट्र हुन्। शान्ति, सुरक्षा तथा विकासका क्षेत्रमा सहकार्यका लागि विभिन्न अन्तर्राष्ट्रिय  तथा क्षेत्रीय संगठनमा यी दुई राष्ट्र सदस्यका रहेका छन्।

दुई देशबीच विभिन्न सहकार्यका लागि सम्झौता समेत हुदै आएका छन्। तत्कालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेको भ्रमणको क्रममा सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौंमा सम्पन्न भएको दुई देशका श्रममन्त्री स्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति गरेको थियो। 

तर हालसम्म सो सम्झौता पुनरावलोकन भएको छैन। यी दुई देशबीच सन् २००५ मा आर्थिक, व्यापारिक तथा प्राविधिक सहकार्य सम्बन्धी सम्झौता समेत भएको थियो। नेपालले सन् २००७ मा कतारसँग दोहोरो कर मुक्त सम्झौता गरेपछि कतारका लगानीकर्ताले नेपालको कृषि, पूर्वाधार, ऊर्जालगायत विभिन्न क्षेत्रमा लगानी गरेका छन्।

नेपाल र कतारबीच द्विपक्षीय हवाई सेवा सम्बन्धि सन् २००२ जुलाई ८ मा सम्झौता भएको थियो। यसैगरी दुई देशबीच पर्यटन प्रबर्द्धनको लागि पर्यटन क्षेत्रमा सहकार्यको लागि सन् २०११ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो साथै दुई देशका निजी क्षेत्रबीच सहकार्य भै आएको छ। नेपाल चेम्बर अफ कमर्स र कतार चेम्बर अफ कमर्सले सन् २०१८ मा दुईपक्षीय सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए भने कतारको दोहा बैंकले सन् २०१८ डिसेम्बरमा नेपालको काठमाडौंमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको थियो। यसैगरी नेपालका उद्यमीहरु कतारमा संगठित भएका छन्। सन् २०२१ मार्चमा कतार वित्तीय प्राधिकरणमा ‘नेपाली विजनेस एशोसिएसन कतार’ नाममा नेपाली संगठित भएर संस्था समेत दर्ता भएको छ।

कतार बेलायतबाट सन् १९७१ मा स्वतन्त्र भएको हो। स्वतन्त्र हुनु अघिसम्म कतारले अस्थायी संविधान लागू गरेको तर औपनिवेशिक स्वतन्त्रतापछि मात्रै संविधान संशोधन गरी कार्यान्वयन गरेको थियो। कतारको शासकीय व्यवस्था, कानुन प्रणाली, कार्यकारी अधिकार तथा शासनको उत्तराधिकारी लगायत महत्वपूर्ण विषय समेटेर सन् १९९९ मा स्थायी संविधानको मस्यौदा निर्माणका लागि समिति गठन गर्न अमिरी आदेश जारी गरियो। कतारले सन् १९९९ मा पहिलो पटक केन्द्रीय नगर परिषद्को चुनाव गरेको थियो। यो लोकतन्त्रप्रतिको पहिलो कदमको रुपमा कतारले मान्दै आएको छ।

विभिन्न समयमा दुई देशबाट उच्चस्तरीय भ्रमण समेत हुँदै आएका छन्। नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सन् २०११ को अक्टोबरमा कतारको औपचारिक भ्रमण गरेका थिए । यसैगरी  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१८ को अक्टोबर ३० देखि नोभेम्बर २ सम्म कतारको राजकीय भ्रमण गरेकी थिइन् ।

सन् २०२२ मार्च २१ देखि २३ सम्म नेपालका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले कतारको भ्रमण गरेका थिए । यसैगरी सन् २०१९ नोभेम्बर २० देखि २२ सम्म तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलले ,तत्कालिन सभामुख कृष्णबहादुर महराले सन् २०१९ अप्रिल ६ देखि १० सम्म कतारको भ्रमण गरेका थिए । तत्कालीन उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पनि सन् २०१८ नोभेम्बर १३ देखि १४ कतार भ्रमण गर्नु गरेका थिए ।

नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४० वर्ष पुगेको अवसरमा सन् २०१७ जनवरीमा तत्कालिन परराष्ट्र मन्त्री प्रकाशशरण महत तथा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सन् २०१५ अप्रिल ११ देखि १४ सम्म कतारको भ्रमण गरेका थिए ।

कतारको तर्फबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणमा सन् २०१५ अप्रिल ४ देखि ७ सम्म कतारको श्रम तथा सामाजिक मामिला मन्त्री डा. अब्दुल्लाह विन सलेह मुबारक अल(खुलाफी ,वातावरण मन्त्री अब्दुल्लाह विन मुवारक विन अबुद अल(मिधाधीले सन् २०१२ अप्रिल ५ देखि ९ सम्म नेपालको भ्रमण गरेका थिए । कतारको वैदेशिक मामिला मन्त्री शेख हमाद विन जसिम विन अल थानीले सन् २००९ मा नेपालको गरेका थिए । 

कतारको योजना तथा तथ्यांक प्राधिकरण एन्ड स्टाटिस्टिक अथोरिटीको तथ्यांक अनुसार कतारको जनसंख्या सन् २०२४ मार्च महिनासम्ममा ३१ लाख १९ हजार पाँच सय ८९ रहेको छ। जसमध्ये पुरुषको जनसंख्या २२ लाख १२ हजार चार सय ६८ र महिलाको संख्या ९ लाख ७ हजार एक सय २१ रहेको छ। कतार आर्थिक रुपमा सक्रीय छ भने जनसंख्या ८७ प्रतिशतको हाराहारीमा छ। 

कतारले सन् २०२३ को पहिलो त्रैमास अवधिसम्ममा गरेको श्रमशक्ति नमुना सर्वेक्षण अर्थात लेबर फोर्स स्याम्पल सर्भे अनुसार कतारमा शून्य दशमलव एक प्रतिशत हाराहारीमा मात्रै बेरोजगारी छ।

कतारमा प्रति व्यक्ति आय शीर्ष स्थानमा रहेको छ। कतारमा प्रति व्यक्ति औसत आय अमेरिकी डलर एक लाख १४ हजारको हाराहारीमा छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार अमेरिकी डलर दुई खर्ब २४ अर्ब ६९ करोड अमेरिकी डलर बराबर रहेको तथ्यांकमा उल्लेख छ।

नेपाल र कतार बीचको वैदेशिक व्यापारको क्षेत्र विस्तारै हुदै आएको छ। भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्ममा रु एक अर्ब ५३ करोड ५१ लाख ६७ हजार बराबरको आयात र नौ करोड १९ लाख बराबरको निर्यात भएको छ।  नेपालले चिया, कफी, पिउने पानी, मसला, अलैंची कतारमा निर्यात गर्दै आएको छ भने कतारबाट धुलो दुध, मह,कफी, काजु लगायत ड्राइफ्रुट लगायतको आयात गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्