अस्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट पाँच जनाको मृत्यु, आठ घाइते

अस्ट्रेलियाको सिड्नीस्थित एक व्यस्त सपिङ सेन्टरमा सामूहिक छुराबाट पाँच जनाको मृत्यु भएको छ। शनिबार दिउँसो वेस्टफिल्ड बोन्डी जक्शनमा पसेर एक संदिग्ध समूहले अन्धाधुन्ध छुरा प्रहार गरेको थियो।

उक्त घटनामा पाँच जनाको ज्यान गएको अस्ट्रेलियाको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले समाचारमा उल्लेख गरेको छ। यस्तै एक बच्चा सहित आठ जना घाइते भएका छन्।घटनापछि प्रहरीले मानिसहरूलाई घटनास्थलबाट टाढा रहन चेतावनी दिएको थियो। अहिले घटनास्थल प्रहरीको नियन्त्रणमा आइसकेको जनाइएको छ।

अस्ट्रेलियामा सामूहिक हिंसाका घटनाहरू विरलै हुने गरेका छन्। सन् २०१९ मा उत्तरी अस्ट्रेलियाको डार्बिनमा भएको सामूहिक गोली काण्डमा चार जनाको ज्यान गएको थियो।

यस्तै अप्रिल १९९६ मा एक सामूहिक गोलीबारीको घटना भएको थियो। जसलाई ‘पोर्ट आर्थर नरसंहार’ को रूपमा चिनिन्छ। तस्मानिया राज्यको पर्यटकीय सहर पोर्ट आर्थरमा भएको उक्त नरसंहारमा ३५ जनाको मृत्यु भएको थियो। -एजेन्सी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?