इरानमाथि नयाँ प्रतिबन्धको तयारीमा अमेरिका र ईयू

गत सप्ताहान्तमा इजरेलमाथि आक्रमण गरेको इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिका र युरोपेली संघले बताएका छन्।

इजरेलले आफ्ना सहयोगीहरूलाई तेहरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेपछि  पश्चिमा मूलुकदे यस्तो तयारी  गरेका हुन् । अमेरिकाका अर्थमन्त्री जनेट येलनले आगामी दिनहरूमा कदम चालिने बताएकी छन्। यस्तै, युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले त्यसका लागि काम भइरहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घले उक्त कार्यक्रममा लगाएको प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो। यस्ता प्रतिबन्धहरूले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने फराकिलो दायरा राख्छन्।अमेरिका, ईयू र यूके सहितका देशहरूले इरानमाथि प्रतिबन्ध कायम राख्दै थप प्रतिबन्ध लगाएका छन्।

उता, इजरेली सेनाका प्रमुख हेर्टसी हालाभीले सोमवार इरानको आक्रमणको जबाफ दिइने बताएका छन्।इरानले गत शनिवार पहिलो पटक इजरेलमाथि सीधा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको  थियो। इरान, इराक, सिरिया र यमनबाट प्रहार भएका करिब ३०० वटा क्षेप्यास्त्र र ड्रोनमध्ये अधिकांश इजरेल र उसका सहयोगीहरूले बीचमै नष्ट गरिदिएका थिए।

तेहरानले उक्त हमला गत अप्रिल १ मा सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा १३ जनाको ज्यान जाने गरी इजरेलद्वारा  भएको ठानिएको हवाई आक्रमणको बदला भएको बताएको छ।

-एजेन्सी 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?