वैदेशिक रोजगारमा पठाईदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, १४ चैत । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ घर भई हाल काठमाडौं बुढनिलकण्ठ नगरपालिका-७ हात्तीगौडा बस्ने २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दी बेनी नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ जाल्पाचोक बस्ने ३९ वर्षीय राममाया गुरूङ रहेका छन् । 

पक्राउमध्ये सुवासले युकेमा वोर्किङ भिषामा पठाईदिन्छु भन्दै नक्कली अफर लेटर देखाई पीडितबाट १६ लाख ८० हजार रूपैयाँ ठगी गरेको र महेन्द्रले अष्ट्रेलिया पठाईदिन्छु भन्दै १२ लाख ठगी गरेको र राममायाले माल्दिभ्स पठाईदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीकाे टाेलिले सुवासलाई काठमाडौं पालबारी, महेन्द्रलाई काठमाडौं जोरपाटी र राममायालाई काठमाडौं कालिमाटीबाट पक्राउ गरको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्