कवयित्री भावना खनालको काव्य कृति लोकार्पण सम्पन्न

धातानन्द शर्मा गैरे

पाल्पा  : विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाको आयोजनामा छन्द कवयित्री भावना खनालद्वारा रचित भावसङ्गम कवितासङ्ग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पसप्रमुख वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा एवम् अन्य विशिष्ट अतिथिबाट सामूहिक रुपमा कृति लोकार्पण सुसम्पन्न भएको हो । 

कार्यक्रममा वरिष्ठ साहित्यकार तथा गाउँले देउरालीका सम्पादक रामप्रसाद अर्यालले कृतिकारको बाल्यकाल, शिक्षादीक्षा र साहित्य यात्रा सम्मानादि पक्षको परिचय गराउएका थिए ।कार्यक्रमका प्रमुख अतिथि चोलेश्वर शर्माले भावना खनालले नेपाल र नेपालबाहिर गएर आफ्ना कविता र वाचनशैलीले आफ्नो विशिष्ट पहिचान बनाएको विचार राखे । उनले  विषयगत अनेकता र भावगत विविधता भावसङ्गममा रहेको, देशको अवस्था र चिन्ता कृतिमा अभिव्यक्त भएको भन्दै भविष्यमा अझ सशक्त र परिष्कृत कृतिका लागि कृतिकारलाई शुभकामना दिए । यस्तै अन्य अतिथिहरुले समेत  भावसङ्गम कृति शीर्षक चयनका दृष्टिले सार्थक रहेको, कवितामा राष्ट्रियताको भावना भरिपूर्ण रहेको र प्रकृतिको गायन गरिएको विचार राखे । 

नेपाल पत्रकार महासंघका संस्थागत महासचिव चन्द्र भण्डारीले राजनैतिक आन्दोलनका क्रममा द्वन्द्वकालमा आफू १० वर्षसम्म पाल्पा जेलमा विताएका यातनापूर्ण क्षणहरुको स्मरण गर्दै त्यो बेला स्व. विनय कसजूको सत्य पत्रिकाबाहेक अन्य समाचार पत्र र पाल्पाली पनि जेलमा भेट्न नपुगेको तीतो अनुभव सुनाए ।

कृतिकार भावना खनालले आफ्ना पहिला दुई छोराहरु पछि तेस्रो सन्तानको रुपमा यो कृति आएको भन्दै आफूले समाजमा देखे, भोगेका कुरा कवितामा उतार्ने जमर्को गरेको भन्दै साहित्य साधनामा लाग्न आफूलाई प्रेरणा दिने आफ्नो घरपरिवार, माइती, आफन्तजन र मित्रजनहरुप्रति आभार व्यक्त गरिन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

यो पनि हेर्नुहोस्